एएफसी कपअन्तर्गत समूह ‘ई’ खेलमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले भोलि बंगालदेशको अबहानी ढाकासँग खेल्दैछ। खेल ढाकाको बंगबन्धु रंगशालामा नेपाली समयअनुसार साँझ ६ बजे सुरु हुनेछ।
खेलअघि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले ३ अंकका लागि खेल्ने बताएका छन्। यद्यपी गर्मीमा खेल्दा मनाङलाई गाह्रो हुने उनले प्रिम्याच पत्रकार सम्मेलनमा बताए।
लोप्साङले राम्रो तयारी गरेकाले जित निकाल्ने विश्वास व्यक्त गरेका छन्। यस्तै अग्रपंक्तिको समस्या समाधानका लागि रणनीति बनाएको पनि उनको भनाइ छ। मनाङका कप्तान विराज महर्जनले ढाकाविरुद्धको खेल महत्वपूर्ण भएकाले उत्कृष्ट खेल्ने बताए।
ढाकाका प्रशिक्षक मारियो लेमोसले महत्वपूर्ण खेल भएकाले समूह विजेता हुनका लागि खेल्ने बताए। उनले उत्कृष्ट फुटबल खेलेर ३ अंक जोड्ने दाबी गरे।
एएफसी कपको चौंथो चरण सकिँदा मनाङ जितविहीन छ। पछिल्लो २ खेलमा बराबरी खेलेको मनाङ २ अंक जोडेर अंक तालिकाको पुछारमा छ।
समूहको शीर्ष टिममात्र अन्तर क्षेत्रीय सेमिफाइनलको प्लेअफमा पुग्ने भएको हुँदा मनाङलाई बाँकी २ चरणमा जित निकाल्नु पर्ने बाध्यता छ।
समूहमा भारतको चेन्नइयीन ७ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको ढाकाको पनि ७ अंक नै छ। दुवैले समान २-२ खेलमा जित र १ खेलमा बराबरी खेलेका छन्। तेस्रो स्थानको पन्जावको ४ अंक छ। पञ्जावले चार खेलमै बराबरी खेलेको थियो। समूहमा तीन टिम अपराजित छन्। मनाङ र पञ्जाव अहिलेसम्म जितविहीन छन्।
समूहमा शीर्ष हुनका लागि मनाङका लागि बाँकी दुई खेलमा जित निकालेमात्र पुग्दैन अन्य टिमको नतिजामा भर पर्नु पर्ने हुन्छ।
पहिलो जितको खोजीमा रहेको मनाङलाई मुख्य खेलाडी घाइते हुँदा समस्या परेको छ। राष्ट्रिय टिमको मैत्रीपूर्ण खेलका दौरान घाइते भएका फरवार्ड अञ्जन विष्ट र फरवार्ड अजिज ओलावालेले ढाकाविरूद्धको खेल गुमाउँदैछन्। ओलावाले लगातार दोस्रो पहेँलो कार्डका कारण टिमबाट बाहिर भएका हुन्।
यसै सिजनबाट एएफसी कपमा डेब्यू गरेको मनाङलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा बंगलादेशको लिग च्याम्पियन ढाका अबहानीले १-० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा मनाङलाई गत सिजनको भारतीय सुपर लिग च्याम्पियन चेन्नइयीनले २-० गोलले हराएको थियो।
तेस्रो चरणको खेलमा मनाङ र गत सिजनको आइ लिग च्याम्पियन मिर्नेभा पञ्जावबीच भिडन्त भएको थियो। भारतको भुनवेश्वरमा भएको खेलमा मनाङले २-२ को बराबरी खेलेर एएफसी कपमा पहिलो अंक र पहिलो गोल गर्न सफल भएको थियो।
चौंथो चरणको खेलमा मनाङ र पञ्जावबीच सातदोबाटोमा प्रतिस्पर्धा भयो। खेल १-१ को बराबरीमा सकिएको थियो।
मनाङले अन्तिम चरणको खेल असार ११ गते चेन्नइयीन एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल्नेछ।