एएफसी कपमा नेपालको लिग च्याम्पियन जितविहीन बनेको छ। बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अन्तिम खेलमा भारतको चेन्नइयीनसँग ३–२ ले पराजित भएसँगै मनाङ समूह 'ई' मा जितविहीन बनेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
खेलको ५३ मिनेटमा चेन्नइयीनका मोहमद राफीले गोल गरेका थिए। ६६ मिनेटमा इली सबियाले चेन्नइयीनको अग्रता दोब्बर पारे।
२–० ले खेलमा पछि परेको मनाङले ८ मिनेट भित्र २ गोल फर्काएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो। मनाङका लागि ओलाडिपो ओलावाले अफिजले ७१ र ७९ मिनेटमा गोल गरेका थिए।
तर खेल सकिन २ मिनेट बाँकी छदा चेन्नइयीनका लागि राफीले गोल गर्दा मनाङ स्तब्ध बन्यो।
यता समूहको अर्को खेलमा बंगलादेशको अबहानी लिमिटेड ढाकाले भारतको मिर्नेभा पञ्जावलाई १–० गोलले हरायो। जितसँगै ढाका एएफसी कपको दोस्रो चरणमा पुग्यो। बाँकी ३ क्लब भने समूह चरणबाट बाहिरिए।
सबै तस्बिरहरू : निशा भण्डारी/सेतोपाटी