चिरपरिचित प्रतिद्वन्द्वी अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ।
बुधबार विहान भएको खेलमा घरेलु टिम ब्राजिलले अर्जेन्टिनालाई २–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो।
ब्राजिलको जितमा रोबर्टो फिरमिनो र ग्राबियल जेससले गोल गरे।
१९ औं मिनेटमा जेससले गोल गरेर ब्राजिललाई अग्रता दिलाएका थिए। खेलको ७१ औं मिनेटमा फिरमिनोले ब्राजिलको अग्रता दोब्बर पारे।
योसँगै विश्व फुटबलका सुपरस्टार लिओनल मेसीको देशका लागि उपाधि जित्ने लक्ष्यमा फेरि धक्का लागेको छ।
अर्जेन्टिना कोपा अमेरिकाको पछिल्लो पाँच मध्ये चार संस्करणको फाइनलमा पुगेको थियो। तर एक पटक पनि उपाधि जित्न सकेको थिएन।
अर्जेन्टिना सन् १९९३ यता उपाधिविहीन छ। सन् २०१४ को विश्वकपको फाइनलमा पुगे पनि अर्जेन्टिना उपाधि जित्न भने असफल भएको थियो।
अब उपाधिका लागि ब्राजिलले बिहीबार चिली र पेरुबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
ब्राजिल २००७ पछि कोपा अमेरिकाको उपाधि जित्ने लक्ष्यमा छ।