विराटनगरको शहीद रंगशाला वर्षाका कारण डुबानमा परेपछि मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता धरानमा हुने भएको छ।
बुधबार मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता–२०७६ को विजेतालाई प्रदान गरिने चार केजी चाँदीको ट्रफी विराटनगरमा सार्वजनिक गर्दै यस्तो जानकारी दिइएको हो ।
प्रतियोगिताका संयोजक एवं अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता किरण राईले वर्षातले विराटनगरको शहीद रङ्गशाला डुवान भएका कारण खेलस्थल धरानमा सार्नु परेको बताए ।
सुनसरीको धरानमा यही असार २७ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
लिग कम नकआउट अन्तर्गत हुने हुने खेलमा ‘क’ समूहमा धरान फुटबल क्लब-सुनसरी, बौद्धिक विकास समाज समिति-धनकुटा, बेलवारी फुटबल क्लब मोरङ छन् भने ‘ख’ समूहमा सैनिक युथ क्लब, झापा, बाक्सिला फुटबल क्लब खोटाङ र रेडहर्स क्लब इलाम रहेका छन् । फाइनल खेल असार ३१ गते हुनेछ ।
सञ्चार संयोजक रोहित कोइरालाले मोफसलको क्लबलाई व्यावसायिक बनाउन र खेलाडीले खेलेर जीवनयापन गर्न रोजगारी प्राप्त होस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए। प्रतियोगितामा पुरस्कारतर्फ २० लाख रूपैयाँ रकम छुट्याइएको छ । प्रतियोगिता सम्पन्न गर्न एक करोड ३३ लाख खर्च हुने अनुमान छ ।
खेलको आयोजनाका लागि प्रदेश नं १ सरकारले एक करोड तथा अखिल नेपाल फुटबल सङ्घबाट ३३ लाख रूपैयाँ प्रदान गरिएको छ ।
खेलको पहिलो चरण अन्तर्गत लिगमा प्रदेशका १४ जिल्लाको फुटबल टोलीबीच प्रतिस्पर्धा भई छ टोली फाइनल प्रतियोगितामा प्रवेश गरेका हुन् ।
(रासस)