फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेइमार जुनियरले क्लब छाड्न चाहेका समाचार सार्वजनिक भइरहेका छन्।
नेइमारले क्लब छाड्न चाहेको सार्वजनिक भएपछि व्यवस्थापनले उनलाई नरोक्ने प्रतिक्रिया दिइसकेको छ।
त्यसो त २०१७ मा कीर्तिमानी २०० मिलियन युरोमा पिएसजी आएका नेइमारले चोटका कारण पछिल्लो सिजन राम्रो खेल देखाउन सकेनन्। नेइमारको अनुपस्थितिमा पिएसजीका लागि युवा फरवार्ड केलियन एमबाप्पेले प्रभावशाली खेल देखाइरहेका छन्।
पिएसजीका यी दुई फरवार्डद्वय नेइमार र एमबाप्पे अहिले चर्चामा छन्। दुवै जना खेलका कारण नभइ सेलिब्रेसनका कारण चर्चामा आएका हुन्।
पिएसजीले रेनेसलाई २–१ ले हराएर फ्रेञ्च कपको उपाधि जितेपछिको सेलिब्रेसनमा एबाप्पेले नेइमारले धकेलेको भिडियो सार्वजनिक भएको छ।
गोलीगाँठोको समस्याबाट पीडित नेइमार खेलमा भने अनुपस्थित थिए। जसका कारण उनी प्रशिक्षण पोसाकमै देखिएका थिए।
मार्क भेरार्टीले उनलाई सुरुमा सेलिब्रेसनमा सहभागी हुन जोड गरेका थिए। त्यसपछि फोटोका लागि पोज दिने क्रममा नेइमारलाई एमबाप्पेले धकेलेका थिए।
यसअघि नेइमार क्लबको पहिलो दिनको प्रशिक्षणमा अनुपस्थित भएपछि क्लबले कारबाही गर्ने चेतावनी दिएको थियो।