दाङको बेलझुण्डी रङ्गशालामा आजदेखि प्रदेश नं ५ स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिता शुरु भएको छ ।
भदौ १२ गतेसम्म चल्ने उक्त प्रतियोगिताको प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरे ।
मन्त्री बरालले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले उक्त प्रतियोगिताको आयोजना गरेको बताए । खेललाई मुलुकको समृद्धिका रुपमा लिएको उनको भनाइ छ ।
अखिल नेपाल फुलबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबलको एकेडेमिक रुपमा विकास गरिने बताए ।
प्रतियोगितामा प्रदेश नं ५ का दाङ, बाँके, बर्दिया, नवलपरासी, रोल्पा र रुपन्देहीका खेलाडी सहभागी छन् ।
आज भएको नवलपरासीले दाङलाई ३–० गोलले हराएको छ । शुक्रबार रोल्पा र बर्दियाबीच तथा रुपन्देही र बाँकेबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
(रासस)