नेपाली राष्ट्रिय फुटबल टिमले सोमबार मलेसियाको फुटबल लिग च्याम्पियन जोहर दारुल ता'जिम एफसीविरुद्धको मैत्रीपूर्ण खेल खेल्दैछ।
फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताको तयारीका लागि नेपालले जोहरविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
खेल जोहार शहरको पसार गुन्डाङ रंगशालामा नेपाली समयअनुसार साँझ ६:३० मा हुनेछ। खेल हेर्न चाहनेहरुका लागि नि:शुल्क टिकट उपलब्ध गराइनेछ। त्यसका लागि तोकिएको स्थानमा टिकट लिनु पर्नेछ।
खेलमा सुजल श्रेष्ठले राष्ट्रिय फुटबल टिमको पहिलो पटक कप्तानको जिम्मेवारी निर्वाह गर्नेछन्।
सुजलले सन् २०११ मा पोखरामा भएको भुटानविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए। त्यसयता उनले १३ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
टिममा नियमित कप्तान विराज महर्जनले फिटनेसका कारण स्थान बनाउन असफल भएका थिए। गोलकिपर किरण चेमजोङ र रोहित चन्द पनि उपलब्ध नभएपछि नयाँ कप्तानको खोजी भएको थियो।
किरण ३ साताअघि जापानमा प्रशिक्षणका लागि गएका थिए। रोहित इन्डोनेसिया लिग खेलिरहेका छन्। दुवै खेलाडी विश्वकप छनोटका लागि भने उपलब्ध हुनेछन्।
'मैत्रीपूर्ण खेल्न पाउने हाम्रो लागि खुसीको कुरा हो। विश्वकप छनोटका लागि यो खेल हामीलाई महत्वपूर्ण छ', नेपालका प्रशिक्षक जोहान कालिनले भनेका छन्।
खेल नेपालका लागि प्रतिस्पर्धात्मक हुने र विश्वकप छनोटका लागि आफ्नो स्तर जाँच्ने मौका रुपमा लिने प्रशिक्षकको भनाइ छ।
जोहरको टिममा ब्राजिलयन डिफेन्डर माउरिसियो र फरवार्ड डिएगो छन्। यस्तै अर्जेन्टिनाका फरवार्डद्वय गोन्जालो र लियोनार्दो पनि टिममा हुँदा नेपाललाई अप्ठारो पर्न सक्छ।
विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा छ।
नेपालले भदौ १९ कुवेत र भदौ २४ गते चाइनिज ताइपेईसँग उनीहरुकै घरेलु मैदानमा खेल्नेछ। यस्तै नेपालले अस्ट्रेलियासँग क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध खेल्नेछ।
नेपाली टिम
गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनील बल, रवी पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्ड : विमल घर्तीमगर, विक्रम राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ