इटालियन सिरी ए अन्तरगत शनिबार भएको खेलमा अतिरिक्त समयमा आत्मघाती गोल उपहार पाएपछि युभेन्टसले नापोलीमाथि ४-३ को रोमाञ्चक जित दर्ता गरेको छ।
३-३ को प्रतिष्पर्धात्मक खेलमा युभेन्टसले अतिरिक्त समयमा सम्भावित बराबरीबाट आफूलाई सुरक्षित गर्न सफल भएको हो। आत्मघाती गोल उपहार पाएपछि युभेन्टस विजयी भएको हो।
शनिबार भएको खेलमा १६ औं मिनेटमा युभेन्टसले डानिलोको गोलबाट अग्रता लिएको थियो। सो अग्रतालाई १९ औं मिनेटमा गोन्जालो हेगुइनले दोब्बर पारे र पहिलो हाफ २-० को नतिजामा सकियो।
त्यसपछि खेलको ६२ औं मिनेटमा युभेन्टसका स्टार स्ट्राइकर क्रिश्चियानो रोनाल्डोले गोल गरे र नतिजा ३-० को बलियो अवस्थामा पुग्यो।
तर यसरी ३-० ले पछि नापोलीले खेलमा उत्कृष्ट पुनरागमन गर्दै लगातार ३ गोल गर्यो र खेललाई बराबरीमा लग्यो।
उसका लागि खेलको ६६ औं मिनेटमा कोस्टास मानोलासले गोल गरे भने ६८ औं मिनेटमा हिर्विङ्ग लाजानोले गोल गरे। यस्तै ८१ औं मिनेटमा जिओभानी डि लोरेन्जोले गोल गरे र नतिजा ३-३ को बराबरीमा पुग्यो।
यस्तो नतिजाले खेल बराबरीमा टुङ्गिए पनि अतिरिक्त समयको दोश्रो मिनेटमा खेलले अर्को मोड लियो।
नापोलीका केलिदु कुलिबेलीले फ्रिकिकबाट गोलकिपरलाई पास गरेको बलले आफ्नै पोस्टको जाली चुमेपछि बराबरीमा टुङ्गिने अनुमान गरिएको खेल अन्तिम समयमा युभेन्टसको पक्षमा गयो।