इंग्लिस प्रिमियर लिग लिडर लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले आफ्ना स्ट्राइकर साडियो माने खेलका दौरान रिसाउनु स्वभाविक भएको प्रतिक्रिया दिएका छन्।
प्रिमियर लिगअन्तर्गत शनिबार लिभरपुलले वर्नलीविरुद्ध ३–० ले जित हात पारेको खेलमा सेनेगलका स्ट्राइकर माने रिसले चुर भएका थिए।
तर पनि प्रशिक्षक क्लोपले रिसाउनु मानवीय संवेदना भएकाले त्यसलाई स्वभाविक मान्नु पर्ने बताएका हुन्। उनले लिभरपुलले प्रिमियर लिगमा लगातार १३ खेलमा जित हात पार्दा मानेको योगदान उच्च रहेको भन्दै प्रशंसा समेत गरेका छन्।
शनिबार भएको खेलमा ८५ मिनेटमा सब्सिच्युट भएर मैदान बाहिर निस्किएका माने बेन्चमा रिसाएको अवस्थामा देखिएका थिए। अर्का फरवार्ड मोहमद सलाहले पास नदिएका कारण माने रिसाएका थिए।
गोल गर्न सजिलो अवस्थामा पनि सलाहले मानेलाई पास नदिइ आफै प्रहार गरेका थिए। जसका कारण माने मैदान भित्र र मैदान असन्तुष्ट देखिएका थिए। बेन्चमा कहिले उठ्ने कहिले बस्ने गरेका मानेलाई रोबर्टो फिर्मिनो र जेम्स मिल्नरले सम्हालेका थिए।
घटनाको विषयमा प्रशिक्षकले भनेका छन्, ‘तर राम्रो भयो नी होइन? उनी दु:खी दिए। त्यो स्वभाविक हो।’
उनले मानेले आफ्नो भावना लुकाउन नसक्ने र अहिले सबै शान्त भइसकेको पनि बताए।
‘हामी सबै मानिस हौं। सबै भावनात्मक हुन्छौं। खेलमा कहिलेकाँहि यस्तै हुन्छ। यो भन्दा बढी केहि भएको हो र?’ क्लोपले भनेका छन्, ‘उनी पनि मानिस हुन्। उनले आफ्नो संवेदना लुकाउन सक्दैनन्।’
खेलमा लिभरपुलका लागि माने र रोबर्टो फिर्मिनोले गोल गरेका थिए। एक गोल भने लिभरपुलले आत्मघातीको रुपमा पाएको थियो।
लिगमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा लिभरपुलले चार खेलमा जित हात पारिसकेको छ।