रियल मड्रिडले भिल्लारियलसँग २-२ गोलको बराबरी गरेको छ।
स्पेनिस ला लिगा अन्तरगत आइतबार राति भएको खेलमा रियल मड्रिडको बराबरीमा ग्यारेथ बेलले दुई गोल गरे। रियललाई हारबाट जोगाएका बेल अतिरिक्त समयमा भने दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिर पुगेका थिए।
यस खेलमा पहिलो अग्रता भिल्लारियलले खेलको १२ औं मिनेटमा लिएको थियो। उसका लागि मोरेनोले गोल गरे।
त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा ग्यारेथले गोल गर्दै मड्रिडलाई बराबरीमा ल्याए। गोलसँगै ग्यारेथले लिगमा १६९ दिनदेखिको गोलको खडेरीको अन्त्य गरे।
त्यसपछि खेलको ७४ औं मिनेटमा भिल्लारियलका लागि गोमेज बार्डोनाडोले गोल गरे र पुनः अग्रता दिलाए। सो अग्रतालाई ग्यारेथले खेलको ८६ औं मिनेटमा गोल गर्दै बराबरी गरे।
त्यसपछि अतिरिक्त समयमा दोहोरो पहेंलो कार्ड भएपछि उनले मैदान छाडेका थिए। तीन खेलबाट रियल मड्रिडले पाँच अंक जोडेको छ। ऊ लिगको पाँचौ स्थानमा रहेको छ।