युरोकप २०२० छनौट अन्तरगत समूह 'सि'को खेलमा नेदरल्याण्डसले जर्मनीलाई स्तब्ध पारेको छ।
शुक्रबार राती भएको खेलमा नेदरल्याण्डसले जर्मनीलाई घरेलु मैदानमा ४–२ ले पराजित गर्दै स्तब्ध पारेको हो ।
खेलमा पहिलो अग्रता भने जर्मनीले लिएको थियो। उसका लागि सो गोल सर्गे नाब्रीले खेलको ९ औं मिनेटमा गरे।
त्यसपछि पहिलो हाफमा एक गोलले पछि परेको नेदरल्याण्डले दोश्रो हाफमा ३ गोल गर्यो भने एक गोल आत्मघाती गोलका रूपमा जर्मनीबाट उपहार पायो।
नेदरल्याण्डका लागि ५९ औं मिनेटमा फ्र्यांकी डि जोङ्गले बराबरी गोल फर्काएका थिए।
त्यसपछि खेलको ६६ औं मिनेटमा जर्मनीका जोनथन ताहले आत्मघाती गोल गर्दै नेदरल्याण्डलाई २-१ को अग्रता दिलाइदिए। सो अग्रतालाई ७३ औँ मिनेटमा पेनाल्टीमार्फत टोनी क्रसले बराबरी गरे ।
यसरी २-२ को बराबरीमा पुगेको खेलमा राष्ट्रिय टिममा डेब्यु गरेका डनयल मालेनले ७९ औँ गोल गरेर नेदरल्याण्डसलाई पुनः ३-२ को अग्रता दिलाए। त्यसपछि पनि नेदरल्याण्ड त्यही रोकिएन। अतिरिक्त समयको पहिलो मिनेटमा विनाल्डमले टोलीका लागि गोल गरे र खेल नेदरल्याण्डस्ले ४-२ ले जित्यो।