युरो २०२० को छनोट खेलमा नेदरल्यान्ड्सले सानदार जित हात पारेको छ।
नेदरल्यान्ड्सले इस्टोनियालाई ४-० गोलले पराजत गरेको हो।
नेदरल्यान्ड्सको जितमा बाबेलले १७ र ४७ मिनेटमा गरी २ गोल गरे। यस्तै डिपेले ७६ र विन्जाल्डमले ८७ मिनेटमा गोल थपे।
जितसँगै समूह 'सी' मा नेदरल्यान्ड्स तेस्रो स्थानमा छ। उसले ४ खेलबाट ९ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको उत्तरी आयरल्यान्ड र शीर्ष स्थानको जर्मनीको १२-१२ अंक छ। दुवैले ५-५ खेल खेलिसकेका छन्।
शीर्ष स्थानको जर्मनीले उत्तरी आयरल्यान्डलाई २-० गोलले हराएर शीर्ष स्थानमा उक्लिएको छ। जर्मनीको जितमा हाल्सटेङवर्गले ४८ र जिनर्बीले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।
यता केभिन डे ब्रुइनको उत्कृष्ट प्रदर्शनमा बेल्जियमले स्कटल्यान्डलाई ४-० ले पराजित गरेको छ।
बेल्जियमका लागि लुकाकुले ९, भेर्माइलेनले २४ र एल्डरवायर्डले ३२ मिनेटमा गोल गरे। तीनै जनालाई डे ब्रुइनले गोल गर्न पास उपलब्ध गराए। ब्रुइनले ८२ मिनेटमा बेल्जियमका लागि चौथो गोल गरे।
समूह आइमा बेल्जियम ६ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको रसियाको १५ अंक छ।