सावित्रा भण्डारी 'साम्बा'ले नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बराबरी गरेकी छिन्।
बिहीबार किर्गिस्तानमा भएको नाडेज्दा कपमा उज्वेकिस्तानविरुद्ध २ गोल गरेकी साम्बाले अन्तर्राष्ट्रिय गोल संख्या ३५ पुर्याएर अनु लामाको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेकी हुन्।
यद्यपी उज्वेकिस्तानविरुद्धको फाइनल खेलमा नेपाल ३-२ ले पराजित हुँदा आठौं फाइनलमा पनि उपाधि जित्न सकेन।
खेलमा साम्बाले नेपाल ३-० ले पछि परेको अवस्थामा ६४ मिनेट र दोस्रो हाफको इन्जुरी टाइममा पेनाल्टीबाट गोल गरेकी थिइन्।
उनले प्रतियोगितामा ७ गोल गरिन्। यसअघि उनले आयोजक किर्गिस्तानविरुद्ध ४ गोल र ताजकिस्तनविरुद्ध १ गोल गरेकी थिइन्।
केटाहरूसँगै फुटबल खेल्दै हुर्केकी साम्बा
सावित्रा भण्डारी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर हुन्। सावित्रा फुटलबमा ‘साम्बा’ नामले पनि चिनिन्छिन्।
महिला फुटबलमा साम्बाले सफल खेलाडीको परिचय बनाए पनि उनको फुटबल यात्रा भने सहज रहेन।
लमजुङको सिम्बाली गाउँमा जन्मिएर हुर्किएकी सावित्राले फुटबल खेल्नका लागि घरमै संघर्ष गर्नुपर्यो। स्कुलका केटासँग फुटबल खेल्दा परिवारको गाली खानुपर्यो। आमाको पिटाइ सहनुपर्यो। बाबाको ‘घरमै बसेर पढ’ भन्ने आदेश पालना गर्नुपर्यो।
परिवारसँग मनमुटावबीच उनले घरको आँगनमै खाली खुट्टा मोजाको बलमा आफ्नो फुटबल सपनालाई जीवन्तता दिइरहिन्।
साम्बाका चार दिदीबहिनी छन्, दुइ दाजुभाइ। बुवाको नोकरीले मात्र परिवार चलाउनै मुस्किल भैरहेको देखेकी उनका लागि फुटबल जर्सी किन्नु सपना थियो।
उनलाई फुटबलको भोकले छाडेन। विद्यालयको टिफिन टाइममा खाजा खाइनन्। फुटबल खेलिन् त्यो पनि केटाहरूसँग।
केटाजस्तो भएर हिँडेको देखेर छिमेकीले कुरा काटे। तर साम्बाले परवाह गरिनन्।
फुटबलमा मात्र होइन जिल्ला स्तरको दौडमा समेत उनले गोल्ड मेडल जितिन्। भलिबलमा सिल्भर मेडल। साम्बाले ल्याएको मेडलले छिमेकीको मुख टालियो।
२०७१ साल सावित्राका लागि टर्निङ प्वाइन्ट बन्यो। लमजुङकै घले गाउँमा आयोजना भएको फुटबल प्रतियोगितामा साम्बाले उत्कृष्ट प्रदर्शन गरिन्। प्रतियोगिताकै सबैभन्दा धेरै ९ गोल गरिन्।
खेल हेर्न राष्ट्रिय रेफ्री शुक्र लामा घलेगाउँ पुगेका थिए। सावित्राको खेल देखेर शुक्रले उनलाई सशस्त्र प्रहरीको फुटबल टोलीमा आबद्ध हुने मौका मिलाइदिए। लामाले सावित्रालाई फोन गरेर सशस्त्र प्रहरी क्लबमा आउन सुझाव दिए।
वैशाखसम्म घलेगाउँको खेलम खेलिरहेकी सावित्रा तीन महिनापछि सशस्त्र प्रहरीको एपिएफ क्लबमा महिला फुटबल खेलाडी बनिन्। सशस्त्रमा राष्ट्रिय टोलीका खेलाडी थिए। उनलाई क्लबमा आफूलाइ प्रमाणित गर्ने चुनौती थपियो।
तर मेहेनती साम्बाले हौसला गुमाइनन्।
एन्फाले राष्ट्रिय टोलीमा छनौटका लागि ४४ खेलाडीलाई क्लोज क्याम्पमा राख्यो। साम्बा ४४ मा समेटिइन्। ‘सीमित’ फुटबलको ज्ञानको सहारामा राष्ट्रिय टोलीमा पर्न उनले संघर्ष गर्नुपर्यो।
सन् २०१४ उनका लागि सुनौलो बिहानी बनेर आयो। त्यही वर्ष उनले पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरिन्। डेब्यु खेलमै गोल पनि ठोकिन्।
त्यसयता उनी राष्ट्रिय फुटबल टोलीमा निरन्तर छिन्- गोल मेसिनका रूपमा।
साम्बालाई आफूले केही पाउने अपेक्षाभन्दा राष्ट्रका लागि केही गर्ने भोकले अझै सताइरहेछ।
साम्बालाई खेलमा विपक्षीले समय कटाउन गरेकी तिकडमले चिढ्याउँछ।
साम्बा ब्वाइज कट हेयर स्टाइल राख्छिन्। कतिपयले उनलाई केटा भन्ठान्छन्।