डिफेन्डिङ च्याम्पियन नेपाल साफ यु-१८ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ।
सोमबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको समूह ‘ए’ को खेलमा भुटान र माल्दिभ्सले गोलरहित बराबरी खेलेसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो।
नेपाल आइतबार भएको आफ्नो दोस्रो खेलमा भुटानसँग ३–० ले पराजित भएको थियो। त्यसअघि नेपाल र माल्दिभ्सले १-१ गोलको बराबरी खेलेका थिए।
त्यसैले नेपाललाई अन्तिम चारमा पुग्न भुटान वा माल्दिभ्सले ४ गोलअन्तरको जित निकाल्नु पर्ने बाध्यता थियो। तर भुटान र माल्दिभ्सले बराबरी खेलेसँगै नेपाल बाहिरिएको हो।
सन् २०१६ र २०१८ को विजेता नेपाल समूह चरणबाटै बाहिरिने क्रममा जितबिहिन समेत भयो।
समूहबाट भुटान ४ अंक जोडेर समूह विजेता र माल्दिभ्स २ अंक जोडेर उपविजेताको रुपमा अन्तिम चारमा पुगेका छन्।
यसअघि 'बी' को खेलमा भारतलाई गोलरहित बराबरीमा रोक्दै बंगलादेश अन्तिम चारमा पुगेको थियो। बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो।
अब बुधबार भारत र श्रीलंकाबीचको खेलपछि समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ।