भारत साफ यु–१८ च्याम्पियनसिपको सेमिफाइनलमा समिकरण पूरा भएको छ।
बुधबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा श्रीलंकालाई ३–० ले हराएसँगै सेमिफाइनल पुग्ने भारत अन्तिम टिम बन्यो।
भारतका लागि विक्रम प्रताप सिंह, गौकिरा सिंह र अमन क्षेत्रीले गोल गरे।
यससँगै भारत समूह विजेता बन्यो।
अब सेमिफाइनलमा भारत र माल्दिभ्स तथा भुटान र बंगलादेशबीच खेल हुनेछ।
दुई पटकको विजेता नेपाल भने समूह चरणबाटै बाहिरियो। सोमबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको समूह ‘ए’ को खेलमा भुटान र माल्दिभ्सले गोलरहित बराबरी खेलेसँगै नेपाल समूह चरणबाटै बाहिरिएको थियो।
नेपाल आइतबार भएको आफ्नो दोस्रो खेलमा भुटानसँग ३–० ले पराजित भएको थियो। त्यसअघि नेपाल र माल्दिभ्सले १-१ गोलको बराबरी खेलेका थिए।
सन् २०१६ र २०१८ को विजेता नेपाल समूह चरणबाटै बाहिरिने क्रममा जितबिहिन समेत भयो।
समूहबाट भुटान ४ अंक जोडेर समूह विजेता र माल्दिभ्स २ अंक जोडेर उपविजेताको रुपमा अन्तिम चारमा पुगे भने नेपालले १ अंक मात्र जोड्यो।