फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट खेलको तयारीका लागि नेपालले आगामी बिहीबार म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
नेपाली टिम मैत्रीपूर्ण खेलका लागि आइतबार त्यसतर्फ प्रस्थान गर्दैछ।
म्यानमारसँगको खेलका लागि गोलकिपर एलन न्यौपानेसहित मिडफिल्डरद्वय सुवास गरुङ र मिक्छेन तामाङले टिममा स्थान बनाएका छन्। यस्तै भारत खवास टिममा फर्किएका छन्।
नियमित गोलकिपर तथा कप्तान किरण चेमजोङ टिममा हुनेछैनन्। यस्तै रोहित चन्द पनि टिममा उपलब्ध नहुने भएका छन्। मिडफिल्डर विशाल राई घाइते भएका कारण टिमबाट बाहिर छन्।
छनोटअन्तर्गत नेपालले आगामी मंसिर ३ गते कुवेतसँग घरेलु मैदानमा खेल खेल्दैछ। चार वटै अवे म्याच खेलिसकेको नेपालले १ खेलमा मात्र जित हात पारेको छ।
समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा कुवेतसँग ७–० गोलले पराजित भएको थियो। दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको नेपाललाई तेस्रो खेलमा अस्ट्रेलियाले ५–० ले हरायो। चौथो खेलमा नेपालमाथि जोर्डनले ३–० को जित हात पारेको थियो।
पहिलो चरणमा तीन अंक जोडेको नेपालले बाँकी खेल घरेलु मैदानमा खेल्ने भएकाले सुधारिएको खेलेको अपेक्षा गरिएको छ।
नेपाली टिम
गोलकिपर – विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने
डिफेन्डर – सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजीन धिमाल, सुमन अर्याल
मिडफिल्डर – सुनिल बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्छेन तामाङ
फरवार्ड - भरत खवास, विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ