जारी चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपाल आर्मीलाई हराउँदै ब्रिगेड ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
विभागीय ‘ए’ डिभिजन प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै ब्रिगेड ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो।
ब्रिगेड ब्वाइजले आर्मीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाईनलमा पुग्न सफल भयो। ब्रिगेड ब्वाइजले खेलको ३०औं मिनेटमा विदेशी खेलाडी उदे ग्लोरीको गोल व्वाइजका लागि निर्णायक सावित भयो।
पहिलो हाफमा ब्वाइजले आर्मीलाई दवावमा राखेको थियो। १५औं मिनेटमा ग्लोरीले नै पहिलो पोस्ट आक्रमण बुनेको थियो। १९औं मिनेटमा कप्तान जय गुरुङको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो। ३०औं मिनेटमा विदेशी खेलाडी ग्लोरीले कर्नर क्षेत्रबाट ३ डिफेन्डरलाई बिट गर्दै पहिलो बारमा गोल गर्दा आर्मीका गोलरक्षक विश्वास चौधरीले रोक्ने कुनै मौका नै पाएनन्।
एक गोलले पछि परेपछि आर्मीले सुधारिएको खेल पस्के पनि गोल गर्न नसक्दा पहिलो खेलबाटै घर फर्किन बाध्य बन्यो। आर्मीले दोस्रो हाफमा लगातार पोस्ट आक्रमण बुनेपनि गोल हुन सकेन।
खेलमा निर्णायक गोल गरेका ब्वाइजका विदेशी खेलाडी उदे ग्लोरी नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई ५ हजार रुपैया र म्यान अफ दि म्याचको अवार्ड चन्द्रागिरी नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष रामहरि बस्नेत र आयोजक दिपशशिखा युवा समूहका अध्यक्ष रवि बुढाथाकीले प्रदान गरे।
अब बिबिसीले सेमिफाइनलमा पुलिस र च्यासल युथ क्लबीचको विजेतासँग मंसिर १० मा खेल्नेछ । पुलिस र च्यासलबीच ७ मंसिरमा क्वाटरफाइनल खेल हुनेछ।
प्रतियोगितामा शुक्रबार दोस्रो क्वाटरफाइनलमा फ्रेन्डस र रुस्लान थ्री स्टार क्लबबीच दिउँसो २ः३० बजेपछि खेल हुनेछ ।