विभागीय क्लब नेपाल एपिएफ क्लब तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
शनिबार भएको उपाधि भिडन्तमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै एपिएफ तेस्रो संस्करणको च्याम्पियन बनेको हो।
नैकाप फुटबल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीबाट निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरी टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टीमा एपिएफका खेलाडी सुदिप शिख्राकार, कप्तान नवीन लामा, आशिष लामा, बुद्धिमान राई र रामकुमार कुमालले गोल गरे भने पुलिसका सुमन लामा, अजित भण्डारी, हेम तामाङ र भोला सिलवालले गोल गरे।
च्याम्पियन बनेसँगै एपिएफले ६ लाख ५० हजार रुपैयाँ हात पारेको छ। दोस्रो भएको नेपाल पुलिस क्लबले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ।
एपिएफका गोलरक्षक अमृत चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने। एपिएफकै प्रविन स्याङतान प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने। उनले प्रतियोगिताभर दुई गोल गरे। उनीहरू दुवैले समान ३० हजार रुपैयाँ हात पारे। विजयी टोली तथा खेलाडीलाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, पूर्वअन्तर्राष्ट्रिय खेलाडी बसन्त गौचन, आयोजक दिपशिखा युवा समूहका अध्यक्ष रवि बुढाथोकी र पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा प्रतियोगिता संयोजक रमेश बुढाथोकी लगायतले पुरस्कृत गरे।
गत ३० कात्तिकदेखि शुरु भएको तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको थियो।