देशको सबैभन्दा ठूलो लिग सहिद स्मारक ए डिभिजन लिगको गत संस्करणका सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा भए।
चार वर्षपछि लिग आयोजना गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगको रौनक फर्कने विश्वास गरेको थियो। तर एन्फाले सोचे जस्तो भएन। रेलिगेशनबिनाको लिगमा न त दर्शक आए न त रोमाञ्चक प्रतिस्पर्धा भए।
एन्फा कम्प्लेक्समा थोरै मात्र दर्शक अट्ने भएकाले लिगमा दर्शक कम आएको एन्फाको भनाइ थियो। यो सिजनदेखिको लिग दशरथ रंगशालामा आयोजना हुँदा लिगको साख फर्कने एन्फाको दाबी थियो।
भूकम्पपछि नेपाली खेलाडी पहिलो पटक रंगशालामा लिगका फर्कदा दर्शक पनि फर्कने विश्वास थियो।
तर सोचेको जस्तो यस वर्प पनि भएन। न दर्शक आए, न लिगका सबै रंगशालामा हुन सके।
लिगको उद्घाटन खेल रंगशालामा गर्ने तयारी गरे पनि वर्षाका कारण एन्फा कम्प्लेक्समा सारियो।
गत मंसिर २८ गतेका लागि तय भएको मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लबबीचको उद्घाटन खेल दशरथ रंगशालाबाट सातदोबाटोमा सारियो। हिउँदे वर्षाले गर्दा रंगशालाको मैदान हिलाम्मे हुँदा रंगशालामा उद्घाटन गर्ने एन्फाको तयारी पूरा हुन सकेन।
वर्षाका कारण लिगका पाँचौ चरणका खेल पनि प्रभावित भए। मैदान हिलो हुँदा एन्फाले पाँचौ चरणका खेल २ दिन पछि सारेको थियो।
शुक्रबारबाट सुरु भएको सातौं चरणको खेल पनि वर्षाले प्रभावित भएका छन्। बिहीबार राति परेको वर्षका कारण एन्फाले हिमालयन शेर्पा क्लब र मच्छिन्द्र क्लबबीचको खेल अन्तिम समयमा सारेको थियो।
बिहीबार रातिसम्म दशरथ रंगशालामा तोकिएको खेल शुक्रबार विहान एन्फा कम्प्लेक्स सातदोबाटोमा सारिएको थियो।
यस्तै जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल पनि एन्फा कम्प्लेक्समै हुने भएको छ।
वर्षका कारण पटक–पटक खेल सार्नु पर्ने पनि एन्फाले मैदान सुधारका लागि कुनै ठोस काम गरेको छैन।
यो पनि : ५ करोड खर्चिएको दशरथ रंगशालाको भिआइपी छानो एक महिनामै चुहिन थाल्यो (भिडिओ)