फागुन पहिलो सातादेखि झापामा ‘सताक्षी गोल्डकप २०७६’ आयोजना हुने भएको छ। प्रतियोगिताको मुल आयोजक समिति सतासीधाम स्पोर्टिङ क्लबले आइतबारे झिलझिलेमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
फागुन ३ देखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतको एकसहित नेपालका सात वटा टिम सहभागी हुनेछन्। स्थानीय गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा प्रतियोगिता हुने छ।
यो वर्ष झापामा मेचीनगर, झापा गोल्डकप र सताक्षी गोल्डकपको समयतालिका अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको छ।
प्रतियोगितामा मनाङ मर्स्याङ्दी, थ्री स्टार, त्रिभुवन आर्मी, रुपन्देही-११, मच्छिन्द्र फुटबल क्लब, च्यासल फुटबल क्लब, आयोजक झापा र भारतको दार्जिलिङ फुटबल क्लबले सहभागिता जनाउने भएका छन्।
क्लबका उपाध्यक्ष फूर्वा तामाङका अनुसार सताक्षी गोल्डकपमा सहभागी जनाउन अन्य ए डिभिजनका टिम पनि उत्साहित छन्। तर, तेस्रो संस्करणमा आठ वटा टिमको मात्र प्रतिस्पर्धा हुने उनले बताए। थ्री स्टार र दार्जिलिङ फुटबल क्लबले सहमति दिएको छ भने अन्य टिमको लिखित सम्झौता आउने प्रक्रियामा रहेको तामाङले बताए।
प्रतियोगिताका विजेताले छ लाख नगद पाउने छ। उपविजेताले तीन लाख पाउने छ।
आयोजक समितिका आर्थिक विभाग प्रमुख सनम इजमले प्रतियोगिता सञ्चालन गर्न ७६ लाख रुपैयाँको लागत अनुमान गरिएको बताए।
प्रतियोगिताको म्यान अफ दि सिरिजको पुरस्कार ५० हजार र हाई स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ। यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवार्ड, डिफेन्स, गोल किपर र कोचको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दि म्याचको दस हजार रहेको आयोजकले जनाएको छ।
सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधी नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो।