ब्राजिलका पूर्व फरवार्ड रोनाल्डिन्हो जेलबाट छुटेका छन्।
सन् २००५ का फिफा वर्ष खेलाडी रोनाल्डिन्हो र उनका भाई रोबर्टो नक्कली पासपोर्ट पेश गरेको आरोपमा पाराग्वेमा पक्राउ परेका थिए।
गत मार्च ६ मा पक्राउ परे लगत्तै दुवैलाई जेलमा राखिएको थियो।
दुवैलाई ८ लाख डलर जमानतमा रिहा गर्दै पाराग्वेको चार तारे होटलमा राखिएको छ। दुवै जना अब मुद्दा चलुन्जेल त्यहाँ बस्नु पर्नेछ।
४० वर्षीय रोनाल्डिन्हो र उनका भाइले आफूले गलत काम नगरेको दाबी गर्दै आइरहेका छन्।
रोनाल्डिन्होले जानाजान नक्कली पासपोर्ट नबोकेको उनका ब्राजिली वकील सर्जिओ क्वीरोजले दाबी गर्दै आएका छन्।
क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारीहरु समक्ष आग्रह पनि गरेका थिए।
रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट गत मार्चमा पाराग्वे पुगेका थिए। विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए।
सन् २००२ को विश्वकप विजेता रोनाल्डिन्होले फ्रान्सको पिएसजी, स्पेनको बार्सिलोना र इटालीको एसि मिलान जस्ता चर्चित क्लबबाट आफ्नो व्यवसायिक खेल खेलका थिए। त्यसपछि ब्राजिल फर्किएका उनले सन् २०१५ मा संन्यासको घोषणा गरेका थिए।