नियमित खेल तालिका भन्दा कोरोना भाइरसपछि फर्किएको फुटबलमा खेलाडीहरू २५ प्रतिशत बढी घाइते हुने खतरा देखिएको छ।
कम समयमा धेरै खेल हुने भएकाले खेलाडीहरू घाइते हुने खतरा देखिएको हो।
यो खतरा इंग्लिस प्रिमियर लिगमा बढी देखिएको छ। किनभने क्लबहरूले प्रिमियर लिगको अलवा एफए कप पनि खेल्नु पर्नेछ।
इंग्ल्यान्डमा फुटबल जुन २० देखि फर्किएको अवस्थामा प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीले ४९ दिनमा १३ खेल खेल्नु पर्ने हुन्छ।
आर्टिफियल इन्टेलीजेन्स फोरम जोन–७ ले गरेको अनुसन्धान अनुसार ३० दिनमा ८ खेल खेलेको अवस्थामा खेलाडीहरू २५ प्रतिशत बढी घाइते हुने गरेको देखिएको छ। यो अध्ययन महिनामा ५ खेल खेलेको अवस्थासँग तुलना गरेर गरिएको हो।
अध्ययन विश्वभरका ३५ जना व्यवसायीक खेलाडीसँग कुराकानी गरेर गरिएको थियो।
गत मे ७ देखि सुचारू भएको जर्मन बुन्डेसलिगामा पनि खेलाडी घाइते हुने दर बढेको देखिएको छ। १६ मेमा भएको ६ खेलमा ८ खेलाडी घाइते भएका थिए। यो दर सामान्य भन्दा बढी हो।