समाजवादी पार्टीका सांसद प्रदीप यादवले अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पालाई निलम्बन गर्न माग गरेका छन्।
सांसद यादवले शुक्रबार प्रतिनिधि सभामा मन्त्रालयगत रुपमा छुट्याइएको बजेट माथि छलफलमा भाग लिँदै शेर्पाले मधेशी समुदायलाई होच्याएको भन्दै निलम्बन गरेर कानुनी दायरमा ल्याउन माग गरेका हुन्।
तीन साताअघि एक मिडियामा फेसबुक लाइभमार्फत दिएको अन्तर्वार्तामा 'तराईतिर जाँदा राष्ट्रियताको भावना अलि कम' भएको बताएपछि अध्यक्ष शेर्पा विवादित बनेका थिए।
शेर्पाको अभिव्यक्तिले मधेसीलाई हेपेको भन्दै सांसद यादवले प्रश्न गरे,'मधेशीलाई राष्ट्रियता उहाँले सिकाउने हो? एउटा मर्यादिन स्थानमा बसेकाले यसरी मधेशीलाई हेप्ने?'
शेर्पाले नेपाली सेनालाई पनि राजीनितिक कुरामा मुछेको भन्दै उनले आक्रोश व्यक्त गरे।
'गतल अभिव्यक्ति दिने कर्माछिरिङ शेर्पालाई अभिलम्ब निलम्बन गर्नुपर्छ र कानुनी दायरमा ल्याउनुपर्छ। किनकी उहाँले मधेशीलाई अपमान गर्नु भएको छ,' यादवले भने।
यसअघि अध्यक्ष शेर्पाले बुधबार विज्ञप्ती निकाल्दै आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी मागेका थिए। बुधबार नै मधेशी आयोगले राष्ट्रियताको विषयमा शेर्पाले दिएको विवादास्पद अभिव्यक्तिको विषयमा छानविन प्रक्रिया अघि बढाएको बताएको थियो।
अध्यक्ष शेर्पाले गत जेठ ४ गते फेसबुक लाइभमार्फत तराईका चार जिल्ला (सप्तरी, सिराह, धनुषा र महोत्तरी)मा राष्ट्रियता सिकाउन ग्रासरुट फुटबल सुरू गरेको बताएका थिए।
गत सोमबार भएको एन्फा कार्यसमिति बैठकमा अभिव्यक्तिलाई लिएर शेर्पाको राजीनामा माग भएको थियो। यस्तै एन्फाका चार जिल्ला फुटबल संघका अध्यक्षले कारबाहीको माग गरेर प्रधानमन्त्रीलाई निवेदन दिएका थिए।
शेर्पाको अभिव्यक्तिको विषयमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले विश्व फुटबलको सर्वोच्च निकाय फिफामा उजुरी दिएका छन् भने पूर्वअध्यक्ष नरेन्द्रलाल श्रेष्ठले विवादको विषयमा फिफालाई जनाकारी गराएका छन्।