कोरोना भाइरसका कारण स्थगित भएको इंग्लिस प्रिमियर लिग आगामी जुन १७ बाट सुचारू हुँदैछ। तीन महिनापछि फर्कन लागेको लिगको तीन चरणका खेल तालिका सार्वजनिक गरिएको छ।
जसमा १७ जुनमा साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलबीच खाली रंगशालामा खेल हुनेछ। सोहि दिन एस्टन भिल्ला र सेफिल्ड युनाइटेडबीच खेल हुनेछ।
जुन १९ मा टोटनह्याम र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ। शीर्ष स्थानको लिभरपुले कोरोना भाइरसपछिको पहिलो खेल एभर्टनसँग जुन २१ आइतबार खेल्नेछ। यो खेलको भेन्यू भने तय हुने बाँकी छ।
म्यानचेस्टर सिटीले ९ दिन भित्र तीन खेल खेल्नेछ। सिटीले दोस्रो खेल जुन २२ मा वर्नली र तेस्रो खेल चेल्सीसँग जुन २५ मा खेल्नेछ।
अंक तालिका दोस्रो स्थानको सिटीले शीर्ष स्थानको लिभरपुलभन्दा एक खेल कम खेलेको छ। त्यसैले सिटीको चार खेलको तालिका सार्वजनिक भएका छन्। सिटीले चौथो खेल जुलाई २ मा लिभरपुलविरुद्ध खेल्नेछ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलको २९ खेलबाट ८२ अंक छ भने दोस्रो स्थानको सिटीको २८ खेलबाट ५७ अंक छ। अहिलेको अवस्थामा लिभरपुललाई उपाधि जित्न ६ अंकको खाँचो छ। तर म्यानचेस्टर सिटीको खेलपछि भने लिभरपुलले एभर्टनविरुद्धको खेलमा जित हात पारे उपाधि जित्नेछ।
तीन राउन्डको खेल तालिका हेर्न यहाँ क्लिक गर्नुहोस्।