क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्ट्समा आबद्ध भएको दुई वर्ष बित्न लागिसकेको छ। दुई वर्षको बीचमा रोनाल्डोले क्लबका लागि फ्रिकिकबाट गोल गर्न सकेका थिएनन्।
स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्दा रोनाल्डो फ्रिकिङ गोल गर्न माहिर थिए। फ्रिकिक हान्नुअघि उनको शैली र हानेपछिको सेलिब्रेनस हेर्न लायकको हुन्थ्यो। तर पछिल्ला दुई वर्षमा उनले फ्रिकिकबाट गोल नगर्दा त्यो सेलिब्रेसन फुटबलप्रेमीले मिस गरेका थिए।
दुई वर्षको पर्खाइपछि रोनाल्डोले शनिबार फ्रिकिकमा गोल गरेका छन्। इटालियन सिरि ए अन्तर्गत टोरिनोविरुद्धको खेलमा युभेन्ट्सले ४-१ ले जित हात पारेको खेलमा रोनाल्डोले ६१ मिनेटमा फ्रिकिकबाट गोल गरेका थिए।
उनले सो फ्रिकिक गोल ४३औं प्रयासमा गर्न सफल भए। यसअघि उनले ४२ पटक हानेका फ्रिकिक सफल भएका थिएनन्।
योसँगै रोनाल्डोले सिजनमा २५ गोल गर्न सफल भए। युभेन्ट्सका लागि एकै सिजनमा २५ गोल गर्ने रोनाल्डो ६० वर्षपछि पहिलो खेलाडी बने। यसअघि सन् १९६०-६१ को सिजनमा युभेन्ट्सका लागि ओमार सिभोरले २५ गोल पूरा गरेका थिए।
फ्रिकिकमार्फत गोल गरेसँगै रोनाल्डोले आत्मविश्वास फर्किएको प्रतिक्रिया दिएका छन्।
'मलाई साँच्चै फ्रिकिक गोल चाहिएको थियो। किनभने मैले फ्रिकिकमार्फत गोल गरेपछि आत्मविश्वास फर्काउन सक्छु,' उनले स्काई स्पोर्ट्स इटालियालाई भनेका छन्,'यो कठिन खेल हुनेछ भन्ने हामीलाई थाहा थियो। हामीले कडा मिहिनेत गर्यौ र जित्यौ। अहिले हामीले लाजियोलाई दबाब दिएका छौं।'
रोनाल्डोले कसले गोल गर्यो भन्दा पनि टिमको जित महत्वपूर्ण भएको प्रतिक्रिया दिए। उनले टिम राम्रो संरचनामा रहेको भन्दै बाँकी रहेका कठिन खेल जित्न प्रयास गर्न बताए।