अखिल नेपाल फुटबल संघ (एन्फा) ले भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय अगाडिको फुटबल मैदानमा निर्माण गरेको पूर्वाधार हस्तान्तरण गरेको छ।
एन्फाले जंगी अड्डा अगाडीको फुटबल मैदानमा खेलाडी र रेफ्रीका लागि अन्तर्राष्ट्रिय स्तरको चेन्जिङ रुम बनाएको थियो। यस्तै मैदानको लेवलिङ पनि एन्फाले नै गरेको थियो।
चेन्जिङ रुमसहित मैदानको स्तरोन्नती गर्नका लागि १५ लाख रुपैयाँ खर्च भएको एन्फाले जनाएको छ।
एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले शुक्रबार प्रधान सेनापति पूर्णचन्द्र थापालाई निर्माण गरिएको पूर्वाधार हस्तान्तरण गरे।
यो मैदान विश्वकप तथा एसिया कप छनोटका लागि एन्फाले प्रयोग गर्न पाउनेछ।
आगामी अक्टोबर र नोभेम्बरमा नेपालमा हुने विश्वकप छनोटका खेलका लागि नेपाल र विदेशी टिमले अभ्यास गर्नका लागि मैदान प्रयोग गरिने एन्फाले जनाएको छ।
अभ्यासका लागि अन्तर्राष्ट्रिय स्तरको मैदान चाहिने भएकाले एन्फाले सेनाको मैदानमा पूर्वाधार बनाएको हो।