इंग्लिस प्रिमियर लिगको सिजनमा लिभरपुलले घरेलु मैदानमा हात पार्दै आएको शतप्रतिशत जितमा पूर्णविराम लागेको छ।
यसअघि नै लिगको उपाधि जितेको लिभरपुलले यो सिजनमा घरेलु मैदानमा खेलेका सबै खेलमा जित हात पारेको थियो।
तर शनिबार राति भएको खेलमा लिभरपुललाई बर्नलीले १-१ गोलको बराबरीमा रोक्यो। खेलको ३४ मिनेटमा रोबर्टसनले गोल गरेर लिभरपुललाई अग्रता दिलाए। तर ६९ मिनेटमा बर्नलीका रोद्रिगेजले बराबरी गोल फर्काएका थिए।
यता लिगको अर्को खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ५-० गोलले पराजित गरेको छ। जितसँगै सिटीले सिजनमा दोस्रो स्थान हात पार्ने पक्का भएको छ।
सिटीको जितमा रहिम स्टर्लिङले गोल ह्याट्रिक गरेका थिए। सिटीका लागि थप गोल ग्राबियल जेसस र बेर्नान्ड सिल्भाले गरे।
यता तेस्रो स्थानको चेल्सी पराजित भएको छ। चेल्सीलाई सेफिल्ड युनाइटेडले ३-० गोलले पराजित गरेको हो।
लिगमा उपाधि जितेको लिभरपुलले ३५ खेलबाट ९३ अंक जोडेको छ। दोस्रो स्थानको सिटीको ७२ अंक हुँदा तेस्रो स्थानको चेल्सीको ६० अंक छ। एक खेल कम खेलेको लेस्टर ५९ अंक जोडेर चौथो स्थानमा रहेको छ।