फुलहम इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ।
मंगलबार राति इंग्लिस दोस्रो डिभिजनको लिग च्याम्पियनसिपको प्लेअफमा ब्रेन्टफोर्डलाई २-१ गोलले हराएर फुलहम प्रिमियर लिगमा बढुवा भएको हो।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा तीन गोल भयो।
फुलहमका लागि जोए ब्रायनले दुवै गोल गरे। ब्रायनले १०५ र ११७ मिनेटमा गोल गरेका थिए।
खेलको अन्त्यमा ब्रेन्टफोर्डका लागि डाल्सगार्डले गोल गरे पनि सान्त्वनामा सिमित बन्यो।
जितसँगै फुलहम एक वर्ष पछि नै प्रिमियर लिगमा फर्कन सफल भयो।
माथिल्लो डिभिजनमा फर्केपछि उसले अब टिभी प्रसारण अधिकार र प्रायोजनबाट २० करोड डलरभन्दा बढी प्राप्त गर्नेछ। त्यसैले प्लेअफ खेललाई बिबिसीले विश्वको महँगो खेलको रूपमा चित्रित गरेको थियो।