सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
बुधबार भएको अन्तिम १६ को दोस्रो लेगमा इंग्लिस क्लब युनाइटेडले अस्ट्रियन क्लब लास्कलाई २-१ ले हरायो।
गत मार्चमा भएको पहिलो लेगमा युनाइटेड ५-० ले विजयी भएको थियो। जसका कारण युनाइटेड समग्रमा ७-१ को जितसहित अन्तिम ८ मा पुगेको हो।
बुधबार राति युनाइटेडका लागि लिङ्गार्डले ५७ र मार्टियलले ८८ मिनेटमा गोल गरे। त्यसअघि लास्कका विसिङ्गरले ५५ मिनेटमा गोल गरेर आफ्नो टिमलाई पहिले अग्रता दिलाए।
यता इटालियन क्लब इन्टर मिलानले स्पेनिस क्लब गेटाफेलाई २-० ले हराएर अन्तिम ८ मा पुग्न सफल भयो। कोरोनाले लिग प्रभावित हुँदा यो खेलको एक लेग मात्र भयो।
अन्य खेलमा एफसी कोपनहगेनले इस्तानबुललाई समग्रमा ३-१ र शख्तरले वुल्सबर्गलाई समग्रमा ५-१ ले हराएर अन्तिम ८ मा स्थान सुरक्षित गरेका छन्।
अन्तिम १६ का बाँकी खेल सकिएपछि अन्तिम ८ का सबै खेल जर्मनीमा हुनेछ।