स्पेनिस क्लब बार्सिलोनाका एक खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको छ। क्लबले मंगलबार गरिएको पिसिआर टेस्टमा एक खेलाडीलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको हो।
बार्सिलोनाले मंगलबार ९ जनाको समूहमा कोरोना टेस्ट गरिएको बताएको छ। जसमा कोरोना लागेको पुष्टि भएका खेलाडीको स्वास्थ्य राम्रो रहेको बार्सिलोनाको भनाइ छ। कोरोना लागेका खेलाडीको नाम भने खुलाइएको छैन।
कोरोना लागेका खेलाडीको सम्पर्कमा आएकाको पिसिआर टेस्ट गरिएको छ। साथै सिनियर टिमका खेलाडी कोरोना लागेको व्यक्तिसँग सम्पर्कमा नभएकाले च्याम्पियन्स लिगको खेललाई असर नगर्ने बार्सिलोनाको भनाइ छ।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलका खेल बुधबार बेलुकीदेखि पोर्चुगलको लिस्बनमा सुरु हुँदैछ।
बुधबारको पहिलो क्वार्टरफाइनल पेरिस सेन्ट जर्मेन (पिएसजी) र एटलान्टाबीच प्रतिस्पर्धा हुनेछ।
बिहीबार आरबी लेइपजिग र एथ्लेटिको मड्रिडबीच खेल हुनेछ।
शुक्रबार बार्सिलोना र वायर्न म्युनिख तथा शनिबार लियोन र म्यानचेस्टर सिटीबीच खेल हुनेछ।