नर्वेका प्रशिक्षक लार्स लागरब्याकले नर्विजियन फरवार्ड इर्लिङ हल्यान्डको क्षमता अर्जेन्टाइन फरवार्ड लिओनल मेसी तथा पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको जति भएको दाबी गरेका छन्।
२० वर्षीय फरवार्ड हल्यान्डले गत शुक्रबार पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।
जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट व्यावसायिक फुटबल खेल्ने हल्यान्डले शुक्रबार नेसन्स लिगको प्रतिस्पर्धामा अस्ट्रियाविरुद्धको खेलमा गोल गरेका थिए। सो गोल उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो। यद्यपी खेलमा नर्वे २-१ ले पराजित भयो।
यो नर्वेले १८ महिनामा बेहोरेको पहिलो पराजय हो। पराजित भए पनि प्रशिक्षक लागरब्याक देशका लागि हल्यान्डले पहिलो गोल गरेको कुरामा बढी खुसी देखिए।
सोमबार हल्यान्डले दुई गोल गर्दै प्रशिक्षकको भनाइलाई पुष्टि गरिदिए।
हल्यन्डको प्रभावमा नर्वेले उत्तरी आयरल्यान्डलाई ५-१ ले हरायो। खेलमा हल्यान्डले गोल गर्नका लागि एक पास पनि उपलब्ध गराएका थिए। हल्यान्डले नर्वेका लागि चार खेलमा तीन अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्।
'लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोपछि युवा अवस्थामै आफ्नो उत्कृष्ट क्षमता विकास गर्ने खेलाडी हल्यान्ड हुन्,' प्रशिक्षक लागरब्याकको भनाइ छ,'उनमा विश्वस्तरीय खेलाडी बन्ने सबै सम्भावना छ। यदि तपाई अफेन्सिव थर्ड र डिबक्समा हेर्नु हुन्छ भने उनी अहिले नै उच्चस्तरीय खेलाडी बनिसके।'
प्रशिक्षक लागरब्याकले हल्यान्डले केही क्षेत्रमा सुधार गरे उत्कृष्ट खेलाडी बन्ने दाबी गर्दै अघि भने,'अब चोटबाट टाढै रहन सके उनलाई उत्कृष्ट खेलाडी बन्न कसैले रोक्न सक्दैन।'
गत जनावरीमा अस्ट्रियन क्लब साल्जवर्गबाट डटर्मुन्ड आएका २० वर्षीय हाल्यान्ड अहिले सबैभन्दा चर्चित युवा खेलाडी हुन्।
यसअघि हल्यान्डले कोरोना भाइरसपछि फर्किएको बुन्डेस लिगाको पहिलो खेलमै गोल गरेका थिए। उनी साल्केविरुद्ध गोल गर्दै कोरोना भाइरसपछि भएको बुन्डेस लिगामा गोल गर्ने पहिलो खेलाडी बनेका थिए।
हल्यान्ड गत जनावरीमा १७.१ मिलियन पाउन्डमा साल्जवर्गबाट डर्टमुन्डमा आबद्ध भएका भएका थिए। त्यसयता उनले डर्टमुन्डबाट १५ खेल खेल्दा १३ गोल गरे।
उनले सिजनको सुरुवातमा साल्जवर्गका लागि २२ खेलबाट २८ गोल गरेका थिए। जसमा पाँच ह्याट्रिक समावेश छन्।गत माघमा डर्टमुन्डबाट डेब्यू खेलमै उनले ह्याट्रिक गरेर सनसनी मच्चाएका थिए। त्यो पनि पहिलो रोजाइमा खेलेर होइन सब्स्टिच्युट खेलाडीको रुपमा मैदान छिरेर।
हल्यान्डले एफसी अग्सवर्गविरुद्धको खेलमा दोस्रो हाफमा मैदान छिरेर ह्याट्रिक गरेका थिए। ५६ मिनेटमा मैदान छिरेका उनले २३ मिनेट भित्र ह्याट्रिक पूरा गरे। उनी मैदान छिर्दा डर्टमुन्ड ३-१ ले पछि परेको स्थिति थियो। तर उनको ह्याट्रिकसँगै डर्टमुन्डले खेल ५–३ ले जित्यो।
सिजनको सुरुमा अस्ट्रियन क्लब साल्जवर्गका लागि खेल्दा उनले च्याम्पियन्स लिगमा पनि ह्याट्रिक गरेका थिए।
त्यसपछि हल्यान्डलाई भित्र्याउन इटालियन क्लब युभेन्ट्स र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पनि चासो देखाएका थिए। किनकी उनले यस सिजनको च्याम्पियन्स लिगको समूह चरणमा ८ गोल गरेका थिए। जुन गोल समूह चरणको व्यक्तिगत दोस्रो बढी हो।
युभेन्ट्स र म्यानचेस्टरलाई पछि पारेर डर्टमुन्ड उनलाई भित्र्याउन सफल भयो। अझै उनको माग विश्व फुटबल बजारमा बढिरहेको छ।
इंग्ल्यान्डको लिड्समा २००० मा जन्मिएका उनले नर्वेजिन क्लब ब्रेन एफकेबाट युवा उमेरमा फुटबल खेलेका थिए।
उनका बुबा अल्फ इन्गे हाल्यान्ड पनि नर्वेका पूर्व खेलाडी हुन्। उनले नर्वेका क्लबबाट व्यवसायिक खेल खेलेपछि सन् १९९७ देखि २००० सम्म लिड्स युनाइटेडबाट खेलेका थिए। त्यसपछि उनी २००० मा छोरा हल्यान्ड जन्मिएकै वर्ष म्यानचेस्टर सिटीमा आबद्ध भए। त्यहाँ उनले तीन सिजन बिताए। उनले सन् २०१२ सम्म फुटबल खेले। नर्वेबाट उनले १९९४ देखि २००१ सम्म खेल्दा ३४ क्याप जिते।
बुबाले फुटबल खेल्न छाडेको तीन वर्षपछि छोरा हल्यान्ड सन् २०१५ मा नर्वेको ब्रेन एफकेको एकेडेमीमा भर्ना भए। त्यहाँ दुई सिजन खेलेपछि उनी सन् २०१७ मा नर्वेको पहिलो डिभिजनको क्लब मोल्डेमा आबद्ध भए। उनले मोल्डेमा ३९ खेलमा १४ गोल गरे।
गत वर्ष अस्ट्रियन क्लब साल्जबर्गमा आबद्ध भएपछि हल्यान्ड चर्चित बन्न पुगे। उनले सिजनको सुरुवाती पाँच महिनामा १६ खेलमा १७ गोल गरेका थिए।
हल्यान्डले नर्वेको यु-१५ देखि यु-२१ सम्मका पाँच वटा उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेका छन्। उनले २०१९ सेप्टेम्बरमा १८ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए। राष्ट्रिय टिममा उनले अहिलेसम्म ४ खेलमा ३ गोल गरिसकेका छन्।