युइएफए नेसन्स लिगमा फ्रान्सले क्रोएसियामाथि ४-२ गोलको सहज जित निकालेको छ।
सन् २०१८ को फिफा विश्वकप फाइनलको रिम्याचको रूपमा रहेको खेलमा क्रोएसियाले नतिजा पनि 'पुरनावृत्ति' गरेको छ।
सन् २०१८ को फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ गोलले नै पराजित गरेर विश्वकपको उपाधि जितेको थियो।
मंगलबार राति खेलमा अग्रता भने क्रोएसियाले लिएको थियो। उसका लागि लोभ्रेनले १६ मिनेटमा पहिलो गोल गरे। तर ४३ मिनेटमा फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले बराबरी गोल फर्काए।
पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा क्रोएसियाका लिभाकोभिवले आफ्नै पोस्टमा गोल गरेपछि पहिलो हाफ सकिनुअघि फ्रान्सले २-१ को अग्रता लियो।
५५ मिनेटमा क्रोएसियाले बराबरी गोल फर्काउन सफल भयो। उसका लागि ब्रेकालोले कोभाकिकको पासमा गोल गरेका थिए।
१० मिनेटपछि फ्रान्सले फेरि अग्रता लियो। उपमेकानोले ६५ मिनेटमा फ्रान्सका लागि तेस्रो गोल गरेका थिए।
७७ मिनेटमा फ्रान्सले पेनाल्टी पायो। पेनाल्टीमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई ४-२ ले अघि बढाए। जिरुडले फ्रान्सका लागि ४०औं अन्तर्राष्ट्रिय गोल गरेका हुन्।
जितसँगै समूह ए-३ मा फ्रान्सले ६ अंक जोडेको छ भने दोस्रो स्थानमा छ। शीर्ष स्थानको पोर्चुगलले पनि ६ अंक नै जोडेको छ। पोर्चुगलले दोस्रो खेलमा स्विडेनलाई २-० गोलले हरायो।
सो खेलमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे। जससँगै रोनाल्डोले सय अन्तर्राष्ट्रिय गोलको कोशेढुंगा पार गरे।
यता बेल्जियमले समूह ए-२ को खेलमा आइसल्यान्डलाई ५-१ गोलले पराजित गरेको छ।
यहि समूहको अर्को खेलमा इंग्ल्यान्ङ भने डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको छ।
समूहमा बेल्जियम ६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको इंग्ल्यान्डको ४ अंक छ। तेस्रो स्थानमा रहेको डेनमार्कको १ अंक छ भने पुछारको आइसल्यान्ड अंकबिहीन छ।