इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति चेल्सी र साविक विजेता लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ।
खेल नेपाली समयअनुसार राति पौने ९ बजे चेल्सीको मैदानमा हुनेछ।
दुवै टिमले लिगको सुरुवाती खेलमा जित हात पारेका थिए। लिभरपुलले लिड्स युनाइटेडलाई हराउँदा चेल्सी ब्राइटनमाथि जित हात पारेको थियो।
लिभरपुलले चेल्सीको मैदानमा खेलेको पछिल्ला १२ लिग खेल मध्ये ६ खेल जितेको छ। यस्तै तीन खेल बराबरीमा सकिँदा चेल्सीले लिभरपुलविरुद्ध तीन खेलमा मात्र जित निकाल्न सकेको छ।
चेल्सी र लिभरपुलबीच मार्चमा एफए कपको प्रतिस्पर्धा पछिल्लो खेल हो। जसमा चेल्सी २-० ले विजयी भएको थियो।
चेल्सीका प्रशिक्षक फ्रान्क लामपार्डले सिजनमा खेलाडी भित्र्याउन मोटो रकम खर्च गरेकाले उनीमाथि जित निकाल्नु पर्ने दबाब छ।
यस्तै लिभरपुलका लागि उपाधि रक्षा गर्न चेल्सीविरुद्धको खेल महत्वपूर्ण छ।