इंग्लिस प्रिमियर लिगमा टोटेनहमले सानदार जित हात पारेको छ। आइतबार साँझ भएको खेलमा टोटेनहमले साउथह्याम्टनलाई ५–२ गोलले पराजित गरेको हो।
टोटेनहमको जितमा सन ह्युङ मिनले चार गोल गरे। एक गोल ह्यारी केनले गरे। पाँच गोलमै केनको संलग्नता रह्यो। सनले गरेका चारै गोलका लागि केनले पास उपलब्ध गराएका थिए।
खेलमा अग्रता भने साउथह्याम्टनले लिएको थियो। उसका लागि ड्यानी इङ्ग्सले ३२ मिनेटमा पहिलो गोल गरे।
टोटेनहमले पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा बराबरी गोल फर्कायो। सनले इन्जुरी टाइममा गोल गरेपछि टोटेनहम पहिलो हाफ सकिनुअघि बराबरी गर्न सफल भयो।
दोस्रो हाफमा टोटेनहम उत्कृष्ट लयमा देखियो। सनले ४७ मिनेटमा दोस्रो गोल गर्दा ६४ मिनेटमा ह्याट्रिक पूरा गरे। सन यतिमै रोकिएनन्। उनले ६४ मिनेटमा टिम तथा व्यक्तिगत चौथो गोल गरे।
सुरुवाती चार गोलका लागि पास उपलब्ध गराएका उनै केनले ७३ मिनेटमा टोटेनहमका लागि पाँचौ गोल गरेन सफल भए।
एकै खेलाडीले चार गोलमा एकै खेलाडीले पास दिएको प्रिमियर लिगमा यो पहिलो पटक हो।
यस्तै केन प्रिमियर लिगको एकै खेलमा भएको पाँच गोलमा संलग्न हुने पछिल्ला खेलाडी बने। पछिल्लो पटक मोहमद सलाहले सन् २०१८ मा वाटफोर्डविरुद्ध चार गोल गर्दा एक एसिस्ट गरेका थिए।
केन प्रिमियर लिगको एकै खेलमा चार एसिस्ट गर्ने समग्रमा छैटौं तथा पहिलो इंग्लिस खेलाडी बने।
साउथह्याम्टनविरुद्ध जित हात पारेसँगै पहिलो खेलमा पराजित भएको टोटेनहमले लिगमा ३ अंक जोडेको छ।