क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि इटालियन सिरि ए च्याम्पियन युभेन्ट्स हारबाट जोगिएको छ।
आइतबार राति भएको खेलमा १० खेलाडीमा सीमित युभेन्ट्सले रोमासँग २-२ गोलको बराबरी खेलेको हो।
खेलको ३१ मिनेटमा भेरेटोउटले पेनाल्टीमा गोल गरेर रोमालाई अग्रता दिलाए। पहिलो हाफ सकिन एक मिनेट बाँकी छदा युभेन्ट्सले पनि पेनाल्टी पायो। प्राप्त अवसरमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए।
यद्यपी पहिलो हाफको इन्जुरी टाइममा रोमाले खेलमा फेरि अग्रता लिन सफल भयो। इन्जुरी टाइमको पहिलो मिनेटमा भेरेटोउटले नै टिम तथा व्यक्तिगत दोस्रो गोल गरे।
खेलको ६२ मिनेटमा युभेन्ट्स दश खेलाडीमा सीमित बन्यो। राबिओट दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए।
दश खेलाडीमा सीमित भएपछि दबाबमा परेको युभेन्ट्सका लागि रोनाल्डोले ६९ मिनेटमा बराबरी गोल फर्काउन सफल भए।
रोनाल्डोले डानिलोको क्रसमा हेडमार्फत गोल गरेका थिए।
यसअघि पहिलो खेलमा साम्पडोरियालाई ३-० गोलले पराजित गरेको युभेन्ट्स दुई खेलबाट ४ अंक जोडेर अंक तालिकाको चौथौ स्थानमा छ।