इंग्लिस प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।
शनिबार भएको खेलमा सिटीलाई लिड्स युनाइटेडले १-१ गोलको बराबरीमा रोकेको हो।
खेलमा अग्रता म्यानचेस्टर सिटीले १७ मिनेटमा रहिम स्टर्लिङको गोलबाट लिएको थियो।
दोस्रो हाफमा लिड्सले बराबरी गोल फर्काउन सफल भयो। लिड्सका लागि रोद्रिगोले ५९ मिनेटमा बराबरी गोल गरेका थिए।
बराबरीसँगै म्यानचेस्टर सिटीले ३ खेलबाट ४ अंक मात्र जोड्न सक्यो।
सिटी अंङ्क तालिकाको एघारौं स्थानमा छ भने लिड्स ४ खेलबाट ७ अंक जोड्दै पाँचौ स्थानमा छ।
लिगको अर्को खेलमा एभर्टनले ब्राइटनलाई ४-२ गोलले पराजित गरेको छ।
एभर्टनको जितमा कल्भर्ट लेविनले १६ मिनेटमा गोल गर्दा मिनाले पहिलो हाफको इन्जुरी टाइममा गोल थपे। रोद्रिगेजले ५२ र ७० मिनेटमा गरी दुई गोल गरे।
लगातार चार जित निकालेको एभर्टन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। एभर्टनले १२ अंक जोड्दा एक खेल कम खेलेको लेस्टर नौ अंकसहित दोस्रो स्थानमा छ।
लिगमा शनिबारको पहिलो खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४-० गोलले हराउँदा अर्को खेलमा न्युकासलले वर्नलीलाई ३-१ गोलले पराजित गरेको छ।