भारतको आइ-लिग दोस्रो डिभिजनको फाइनल चरणमा नेपाली राष्ट्रिय टिमका फरवार्ड अभिषेक रिजाल आबद्ध मोहमेडन एससीले विजयी सुरुवात गरेको छ।
मोहमेडनले बिहीबारदेखि सुरु भएको प्रतियोगितामा गढवाल एफसीलाई १-० गोलले पराजित गरेको हो। कल्याणीमा भएको खेलमा मोहमेडनले दोस्रो हाफको इन्जुरी टाइमको अन्तिम समयमा गोल गर्दै रोमाञ्चक जित हात पारेको हो।
मोहमेडनका लागि मुनमुन लुगुनले गोल गरे। उनले डिबक्स बाहिरबाट हानेको प्रहारलाई गढवालका गोलकिपरले रोक्ने मौका नै पाएनन्।
मोहमेडनमा अन्तिम पाँच मिनेट बाँकी छदा नेपाली फरवार्ड अभिषेकले मैदान छिर्दै प्रतियोगितामा डेब्यू गरे।
त्यसअघि मोहमेडनले ६७ मिनेटमा पाएको पेनाल्टी अवसर खेर फालेको थियो। मोहमेडनका प्लाजाको प्रहार पोलमा लागेको थियो।
त्यसअघि दिनको पहिलो खेलमा भवानीपुर एफसीले बेंगलुरु युनाइटेडलाई २-० ले हरायो।
कोरोना भाइरसका कारण प्रतियोगिताको अन्तिम चरण हुन सकेको थिएन। बिहीबार प्रतिस्पर्धा सुरु भएसँगै भारतमा पनि कोरोना भाइरसपछि औपचारिक रूपमा फुटबल फर्किएको छ।
गत जनावरीमा सुरु भएको प्रतियोगिताको समूह चरणका खेल बाँकी रहदा स्थगित गरिएको थियो।
प्रतियोगितामा अरा एफसी, भवानीपुर क्लब, बेंगलुरु युनाइटेड, गढवाल एफसी र मोहमेडन एससीबीच प्रतिस्पर्धा हुनेछ।
राउन्ड रोबिनको आधारमा पाँच टिमबीच हुने प्रतिस्पर्धा ११ दिन चल्नेछ। च्याम्पियन बन्ने टिम आइ लिग २०२०-२१ का लागि छनोट हुनेछ।
प्रतियोगितामा नेपालका अभिषेकसँगै यु२३ टिमका अर्का फरवार्ड राजेश परियार अरा एफसीमा आबद्ध छन्।
अभिषेकको टिम मोहमेडन र राजेशको टिम अराबीच आगामी आइतबार प्रतिस्पर्धा हुनेछ।