युइएफए नेसन्स लिगमा जर्मनीले पहिलो जित हात पारेको छ।
जर्मनीले शनिबार राति भएको खेलमा युक्रेनलाई २-१ गोलले अन्तरले पराजित गरेको हो। किभस्थित ओलम्पिक रंगशालामा भएको खेलमा २० हजार दर्शकलाई प्रवेश दिइएको थियो।
समूह ए-४ मा यसअघि दुई खेलमा बराबरीमा रोकिएको जर्मनीलाई शनिबार खेलको २०औं मिनेटमा मथियस गिन्टरले गोल गरेर अग्रता दिलाए।
खेलको ४९ मिनेटमा जर्मनीले अग्रता दोब्बर पार्यो। लियोन गोरेट्ज़काले हेडमार्फत गोल गरेर जर्मनलाई २-० गोलले अघि बढाए।
युक्रेनका लागि मलिनोस्किभले ७६ मिनेटमा पेनाल्टीमा गोल फर्काए पनि त्यो सान्त्वनामै सीमित बन्यो।
यहि समूहको अर्को खेलमा स्पेनले स्विट्जरल्यान्डलाई १-० गोलले पराजित गरेको छ।
घरेलु मैदानमा भएको खेलमा स्पेनका लागि ओयार्जाबालले खेलेको १४ मिनेटमा गोल गरेका थिए। त्यसपछि खेलमा कुनै गोल हुन नसकेपछि सो गोल नै निर्णायक बन्यो।
यो समूहमा स्पेन ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको जर्मनीको ५ अंक छ। युक्रेन ३ अंकसहित तेस्रो स्थानमा रहदा पुछारको स्विट्जरल्यान्डको १ अंक मात्र छ।