युइएफए नेसन्स लिगमा फ्रान्स र पोर्चुगलले बराबरी खेल्दै अंक बाढेका छन्। आइतबार पेरिसमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।
खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र फ्रान्सका फरवार्ड केलियन एमबाप्पे प्राप्त अवसरमा चुकेका थिए।
एमबाप्पेको प्रहारलाई पोर्चुगलका गोलकिपले विफल पारिदिएका थिए। समूह ए-३ को खेलमा एक हजार दर्शकलाई रंगशालामा प्रवेश दिइएको थियो।
यहि समूहको अर्को खेलमा क्रोएसियाले स्विडेनलाई २-१ गोलले पराजित गरेको छ।
समूहमा पोर्चुगल ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको फ्रान्सको पनि ७ अंक नै छ। क्रोएसियाको ३ अंक छ भने स्विडेन अंकबिहीन छ।
यता समूह बी-१ को खेलमा नर्वेले रोमानियालाई ४-० गोलले पराजित गरेको छ।
नर्वेको जितमा इर्लिङ हाल्यान्डले ह्याट्रिक गरे। उनले खेलको १३, ६४ र ७४ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए। नर्वेका लागि थप एक गोल सोर्लोथले ३९ मिनेटमा गरे।
यो समूहमा अस्ट्रिया ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ। समान खेलबाट समान अंक जोडेको नर्वे दोस्रो स्थानमा छ।
तेस्रो स्थानको रोमानियाको ४ अंक छ भने उत्तरी आयरल्यान्डले १ अंक मात्र जोडेको छ।