राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई फुटबल प्रशिक्षण गर्नका लागि अनुमति दिएको छ।
कोरोना भाइरस महामारीका कारण विगत सात महिनादेखि फुटबल लगायत सबै खेलकुद गतिविधि सञ्चालन हुन नसकेको अवस्थामा एन्फाले प्रशिक्षणको अनुमति पाएको हो।
राखेपले आगामी महिना बंगलादेशसँग हुने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण गर्न अनुमति दिएको हो।
राखेपको अनुमति पाएसँगै नेपाली राष्ट्रिय फुटबल टिमले दशैं बिदापछि अभ्यास थाल्ने एन्फाले जनाएको छ।
यसअघि बंगलादेश फुटबल महासंघले नेपालसँग दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल्नका लागि प्रस्ताव गरेको थियो। खेल बंगलादेशकै घरेलु मैदानमा हुने भनिएको छ।
आगामी नोभेम्बर ११-१९ (कार्तिक ११ देखि मंसिर ४) सम्मको फिफा विन्डोमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गराउनका लागि प्रस्ताव आएको थियो।
सरकारले गत चैत महिनादेखि बन्द भएको प्रशिक्षण अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भदौ १ गतेदेखि खुला गर्ने निर्णय गरेको थियो।
तर काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेपछि फुटबलको प्रशिक्षण रोकिएको थियो।
एन्फाले खेलाडीलाई प्रशिक्षण सुरु गराउन भन्दै खेलाडीलाई क्वारेन्टिनमा राखेको थियो। सो क्रममा खेलाडीहरुको पिसिआर परीक्षण समेत गरिएको थियो।
त्यतिबेला फिफा विश्वकप र एसियन कप छनोट पनि स्थगित भएपछि एन्फाले पिसिआर गरेर क्वारेन्टिमा राखेका खेलाडीलाई घर जान अनुमति दिएको थियो।