नेपाली राष्ट्रिय टिमका फरवार्ड अभिषेक रिजाल आबद्ध मोहमेडन एससीले भारतको आइ-लिग २०२०-२१ मा स्थान बनाएको छ।
आइ-लिग दोस्रो डिभिजनको फाइनल चरणमा लगातार तेस्रो खेलमा जित निकाल्दै मोहमेडनले आइ-लिगमा स्थान पक्का गरेको हो।
मोहमेडन सात वर्षपछि आइ लिगमा फर्किएको हो।
मोहमेडनले शुक्रबार भएको आफ्नो तेस्रो खेलमा भवानीपुर फुटबल क्लबलाई २-० गोलले पराजित गर्यो।
मोहमेडनका लागि २७ मिनेटमा माबियाले पहिलो गोल गरे। ६७ मिनेटमा गनी अहमेदले मोहमेडनको अग्रता दोब्बर पारे।
नेपाली फरवार्ड अभिषेक खेलको ८० मिनेटमा मैदान छिरेका थिए। ८८ मिनेटमा अभिषेकको प्रहार थोरैले बाहिरिएको थियो।
यसअघि मोहमेडनले पहिलो खेलमा गढवाल एफसीलाई १-० ले हराएको थियो भने दोस्रो खेलमा अरालाई ४-१ ले पराजित गरेको थियो।
अभिषेकले पहिलो खेलमा अन्तिम पाँच मिनेट मौका पाउदा दोस्रो खेलमा पहिलो रोजाइमा खेलका थिए। उनले अराविरुद्ध दुई गोल गरेका थिए।
अब अन्तिम खेलमा मोहमेडनले बेंगलुरूविरुद्ध खेल्नेछ। सो खेलमा हार बेहोरे पनि मोहमेडन आइ लिगमा पुग्नेछ। किनभने दोस्रो स्थानको भवानीपुरले अन्तिम खेलमा जित हात पार पनि हेड टु हेड मोहमेडन अघि रहनेछ।
अन्तिम खेल खेलअघि मोहमेडनले ९ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको भवानीपुरको ६ अंक छ भने तेस्रो स्थानको बेंगुलुरुले ४ अंक बटुलेको छ। चौथो स्थानमा रहेको अराले २ अंक जोड्दा पुछारको गढवालको १ अंक छ।