युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले फ्रेञ्च च्याम्पियन पिएसजीलाई पराजित गरेको छ।
मंगलबार राति पिएसजीको घरेलु मैदानमा भएको समूह 'एच' को खेलमा म्यानचेस्टर युनाइटेड २-१ ले विजयी भएको हो।
म्यानचेस्टरले खेलको २३ मिनेटमा पेनाल्टीमा गोल गरेर खेलमा अग्रता लियो। म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डेजले प्राप्त पेनाल्टी अवसरमा गोल गरेका थिए।
खेलको ५९ मिनेटमा म्यानचेस्टरका मार्सियलले आफ्नै पोस्टमा गोल गर्दा पिएसजीलाई फाइदा पुगेको थियो।
विपक्षी खेलाडीको प्रहारलाई मार्सियलले हेडमार्फत फर्काउने क्रममा बल पोस्टमा छिर्दा खेलमा १-१ गोलको बराबरी भएको थियो।
खेल सकिन तीन मिनेट बाँकी छदा म्यानचेस्टरले खेलमा अग्रता लिन सफल भयो। मार्कोस रास्फोडले पाउल पोग्बाले उपलब्ध गराएको पासमा गोल गरेका थिए।
त्यसअघि पिएसजीका केलियन एमबाप्पे र नेइमारको प्रहारलाई म्यानचेस्टरका गोलकिपरले विफल पारेका थिए।
यहि समूहको अर्को खेलमा जर्मन क्लब लाइपजिगले टर्किस क्लब स्तानबुललाई २-० गोलले पराजित गरेको छ।
यता समूह 'ई' को खेलमा चेल्सी र सेभियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा सेभियाले गोल गर्न गरेको प्रयासमा चेल्सीका गोलकिपर मेन्डे बाधक बनेका थिए।
यो समूहको अर्को खेलमा रेनेस र क्रास्नोडरले पनि १-१ गोलको बराबरी खेलेका छन्।
समूह 'एफ' को खेलमा लाजियोले बोरुसिया डर्टमुन्डलाई ३-१ गोलले पराजित गरेको छ। अर्को खेलमा क्लब बर्गले सेन्ट पिटर्सवर्गलाई २-१ ले पराजित गरेको छ।