बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडी मध्ये पाँच खेलाडीमा संक्रमण पुष्टि भएको छ।
मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रारम्भिक चरणको अभ्यासका लागि बोलाएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाएको हो। खेलाडीको नाम सार्वजनिक गरिएको छैन।
प्रशिक्षणको पहिलो दिन बिहीबार चार जना खेलाडीमा कोरोना देखिएकोमा फेरि शुक्रबार थप एक जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए।
अहिले पाँचै जना आइसोलेसनमा रहेका छन्।
मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन्।
गत चैतमा सरकारले लकडाउनको घोषणा गरेसँगै खेलकुद क्षेत्र ठप्प भएका थियो। जसमा फुटबल पनि परेको थियो।
दक्षिण एसियाली मुलुक बंगलादेशले दुई मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरे पनि सरकारको अनुमती नपाएपछि एन्फाले कुनै निर्णय लिन सकेको थिएन।
सरकारले प्रशिक्षणको अनुमती दिएसँगै एन्फाले बिहीबारबाट प्रशिक्षण आरम्भ गरेको हो।
मैत्रीपूर्ण खेल कात्तिक २८ र मंसिर २ गते बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा हुने तय छ।