इंग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार राति भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई २-१ गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो।
खेलमा अग्रता भने वेस्ट ह्यामले लियो। दशौं मिनेटमा स्पेनिस मिडफिल्डर पाब्लो फोर्नल्सले गोल गरेर वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए।
४२ मिनेटमा लिभरपुलले पेनाल्टी पायो। प्राप्त अवसरमा मोहमद सलाहले गोल गरे।
खेल सकिन पाँच मिनेट बाँकी छदा सब्स्टिच्युट खेलाडी डिएगो जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। उनलाई गोल गर्न साकिरीले पास उपलब्ध गराएका थिए।
लिगको अर्को खेलमा चेल्सीले वर्नलीलाई ३-० गोलले पराजित गरेको छ।
चेल्सीको जितमा हाकिम जीचले खेलको २६ मिनेटमा पहिलो गोल गरे। उनलाई गोल गर्न अब्राहमले पास दिए।
६३ मिनेटमा डिफेन्डर कर्ट जुमा माउन्टको पासमा चेल्सीको अग्रता दोब्बर पारे।
७० मिनेटमा चेल्सीले तेस्रो गोल गर्यो। यसपटक टिम वेर्नरले गोल गरे। उनलाई गोल गर्न जीचले पास दिएका थिए।
लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले ७ खेलबाट १६ अंक जोडेको छ।
एक खेल कम खेलेको दोस्रो स्थानको एभर्टनको १३ र ७ खेलबाट १३ अंक जोडेको वुल्भ्स तेस्रो स्थानमा छ। चौथो स्थानमा उक्लिएको चेल्सीको ७ खेलबाट १२ अंक रहेको छ।