युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले सानदार जित हात पारेको छ। लिभरपुलले समूह 'डी' को खेलमा एटलान्टालाई ५-० गोलले पराजित गरेको हो।
लिभरपुलको जितमा डायोगो जोता ह्याट्रिक गरे। उनले खेलको १६, ३३ र ५४ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए। जोताले लिभरपुलका लागि १० खेलमा ७ गोल गरिसकेका छन्।
लिभरपुलका लागि थप गोल मोहमद सलाहले ४७ र साडियो मानेले ४९ मिनेटमा गरेका थिए।
यो समूहको अर्को खेलमा अयाक्सले एफसी मिजील्यान्डलाई २-१ ले पराजित गरेको छ।
अंक तालिकामा लिभरपुल ९ अंकसहित शीर्ष स्थानमा छ। अयाक्स र एटलान्टाको समान ४-४ अंक छ भने मिजिल्यान्डले अंक जोड्न सकेको छैन।
यता समूह 'सी' को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले ग्रिसको ओलम्पियाकोसलाई ३-० गोलले पराजित गरेको छ।
सिटीको जितमा फेरान टोरेसले खेलको १२ मिनेटमा पहिलो गोल गरे। ८१ मिनेटमा गाब्रियल जेससले अग्रता दोब्बर पार्दा कान्सेलोले ९० मिनेटमा तेस्रो गोल गरे।
यो समूहको अर्को खेलमा पोर्टोले मार्सेलीलाई ३-० ले हराएको छ।
अंक तालिकामा सिटी ९ अंकसहित शीर्ष स्थानमा छ। पोर्टोको ६ अंक छ भने ओलम्पियाकोसको ३ अंक छ। मार्सेलीले अंक जोड्न सकेको छैन।