स्पेनिस ला लिगामा रियल म्याड्रिड पराजित भएको छ। रियललाई आइतबार राति भएको खेलमा भ्यालेन्सियाले ४-१ गोलले पराजित गरेको हो।
रियलले चार मध्ये तीन गोल पेनाल्टीबाट खाएको थियो भने एक गोल आत्मघाती गरेको थियो।
खेलमा अग्रता पनि रियलले लियो। २३ मिनेटमा करिम बेन्जिमाल गोल गर्दै रियललाई अग्रता दिलाए। उनलाई गोल गर्न मार्सेलोले पास उपलब्ध गराएका थिए।
खेलको ३५ मिनेटमा भ्यालेन्सियाले पहिलो पेनाल्टी पायो। पेनाल्टीमा कार्लोस सोलेरले गोल गरेका थिए।
४३ मिनेटमा रियलले आत्मघाती गोल गर्दा भ्यालेन्सियालाई फाइदा पुग्यो। रियलका राफायल भारानले आत्मघाती गोल गर्दा भ्यालेन्सिया पहिलो हाफमा २-१ ले अघि रह्यो।
५४ मिनेटमा भ्यालेन्सियाले अर्को पेनाल्टी अवसर पायो। जसमा सोलेरले गोल गर्दै भ्यालेन्सियालाई ३-१ ले अघि बढाए।
६३ मिनेटमा रियलका कप्तान सर्जियो रामोसले ह्यान्ड गरेपछि भ्यालेन्सियाले तेस्रो पटक पेनाल्टी पाएको थियो। जसमा सोलेरले नै गोल गर्दै ह्याट्रिक पूरा गरे।
यता लिगको अर्को खेलमा रियल सोसिडाडले ग्रानडालाई २-० गोलले पराजित गरेको छ। जितसँगै सोसिडाड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
अंक तालिकामा सोसिडाड ९ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको भिल्लारियलको ९ खेलबाट १८ अंक छ।
एट्लेटिको म्याड्रिड ७ खेलबाट १७ अंक जोड्दै तेस्रो स्थानमा छ। ८ खेलबाट १६ अंक जोडेको रियल म्याड्रिड चौथो स्थानमा छ।