इंग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल र म्यानचेस्टर सिटीले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन्।
आइतबार राति भएको खेलमा लिभरपुलले खेलको १३ मिनेटमा अग्रता लियो। लिभरपुलका लागि मोहमद सलाहले पेनाल्टीमा गोल गरेका थिए।
३१ मिनेटमा गाब्रियल जेससले म्यानचेस्टर सिटीका लागि बराबरी गोल फर्काए। डी ब्रुनाको पासमा जेससले गोल गरेका थिए।
पहिलो हाफमा उनै ब्रुनाले पाएको पेनाल्टीमा गोल गर्न नसक्दा आफ्नो टिमलाई अग्रता दिलाउन सकेनन्। लिभरपुलका जो गोमेजले ह्यान्ड गरेपछि पाएको पेनाल्टी अवसर ब्रुनाले खेर फालेका थिए।
यता वुल्भ्सलाई १-० गोलले पराजित गर्दै लेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
आर्सनल भने एस्टन भिल्लासँग ३-० गोलले पराजित भएको छ। दोस्रो स्थानमा रहेको टोटेनहमले वेस्ट ब्रुमलाई १-० ले हराएको छ।
अंक तालिकामा लेस्टर ८ खेलबाट १८ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको टोटेनहमको १७ अंक छ। तेस्रो स्थानमा रहेको लिभरपुलको पनि १७ अंक छ।
साउथह्याम्टन १६ अंक जोड्दै चौथो र चेल्सी १५ अंक बटुलेर पाँचौ स्थानमा छन्। म्यानचेस्टर सिटी भने ७ खेलबाट १२ अंक जोड्दै दशौं स्थानमा रहेको छ।