अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा पोर्चुगलले सानदार जित हात पारेको छ। बुधबार राति भएको खेलमा पोर्चुगलले अन्डोरालाई ७-० गोलले पराजित गरेको हो।
घरेलु मैदानमा भएको खेलमा पोर्चुगललका लागि खेलको आठौं मिनेटमा नेटोले पहिलो गोल गरे।
२९ मिनेटमा डियास फर्नान्डेजले पोर्चुगलको अग्रता दोब्बर पारेका थिए।
पहिलो हाफमा २-० ले अघि रहेको पोर्चुगलका लागि रेनाटो साञ्चेजले ५६ मिनेटमा तेस्रो गोल गरे। उनलाई गोल गर्न क्रिस्टियानो रोनाल्डोले पास उपलब्ध गराएका थिए।
६१ मिनेटमा फर्नान्डेजले टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गर्न सफल भए।
७६ मिनेटऐमा अन्डोराका गार्सिया मिरामोन्टेसले आफ्नो पोस्टमा गोल गरेपछि पोर्चुगलको अग्रता ५-० मा पुगेको थियो।
८५ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि छैटौं गोल गरेका थिए। ८८ मिनेटमा सेक्युराले पोर्चुगलका लागि अर्को गोल थपेका थिए।
खेलमा गोल गरेसँगै ३५ वर्षीय रोनाल्डोले १०२ अन्तर्राष्ट्रिय गोल पुर्याएका छन्। रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अली दाइको रेकर्ड भंग गर्नबाट ७ गोल टाढा छन्।
पोर्चुगल र अन्डोराबीचको फिफा वरीयताको अन्तर १२७ थियो। पोर्चुगल फिफा वरीयतामा सातौं र अन्डोरा १३४ स्थानमा छन्।
यता नेदरल्यान्ड्स र स्पेनबीचको खेल १-१ गोलको बराबरीमा सकिएको छ।
खेलको १८ मिनेटमा सर्जियो कैनाल्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। नेदरल्यान्ड्सका भान डी वीकले ४७ मिनेटमा बराबरी गोल फर्काएका थिए।
अन्य खेलमा इटालीले इस्टोनियालाई ४-०, बेल्जियमले स्विट्जरल्यान्डलाई २-१, जर्मनीले चेकलाई १-०, डेनमार्कले स्विडेनलाई २-० गोलले पराजित गरेका छन्।
नर्वे र इजराइलले गोलरहित, टर्की र क्रोएसियाले ३-३ गोलको बराबरी खेलेका छन्।