नेपाली राष्ट्रिय फुटबल टिममा ६ जना युवा खेलाडीले डेब्यू गरेका छन्। बंगलादेशविरुद्धको दुई खेलको मैत्रीपूर्ण सिरिजमार्फत ६ जना युवा खेलाडीले राष्ट्रिय टिममा डेब्यू गरेका हुन्।
कात्तिक २८ गते भएको पहिलो खेलमा डिफेन्डर विकास खवासले पहिलो रोजाइमै खेलेर राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलमा मिडफिल्डर एरिक विष्टले पनि डेब्यू गरेका थिए। उनी दोस्रो हाफमा अजित भण्डारीको स्थानमा मैदान प्रवेश गरेका थिए।
सो खेलमा फरवार्ड दर्शन गुरुङले पनि पहिलो पटक नेपालको जर्सीमा खेल्ने अवसर पाए। उनी सो खेलमा तेज तामाङको स्थानमा मैदान प्रवेश गरेका थिए।
सो खेलमा नेपाल २–० गोलले पराजित भयो।
मंसिर २ गते भएको दोस्रो खेलमा डिफेन्डर विकास खवास, मिडफिल्डर एरिक विष्ट र फरवार्ड दर्शन गुरुङले पहिलो रोजाइमै खेल्ने अवसर पाएका थिए।
यस्तै खेलमा डिफेन्डर छिरिङ गुरुङले पनि डेब्यू गरे। उनले पनि पहिलो रोजाइमै मौका पाएका थिए।
दोस्रो हाफमा मिफडिल्डरद्वय पुजन उपरकोटी र सेसेहाङ आङदेम्बेले मैदान छिर्दै राष्ट्रिय टिममा डेब्यू गरे।
उपरकोटीले तेज तामाङ र आङदेम्बेले अन्जन विष्टको स्थानमा मैदान प्रवेश गर्ने मौका पाए।
दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो।