युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह 'एच' को खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले टर्कीस क्लब इस्तानबुल बशाक्षेहिरलाई ४-१ गोलले पराजित गरेको छ।
मंगलबार भएको खेलमा म्यानचेस्टरको जितमा ब्रुनो फर्नान्डेजले खेलको ७ र १९ मिनेटमा गरी दुई गोल गरे। रास्फोडले ३५ मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गरेका थिए।
म्यानचेस्टरका लागि जेम्सले दोस्रो हाफको इन्जुरी टाइममा चौथो गोल गरेका थिए।
समूहको अर्को खेलमा फ्रेञ्च क्लब पिएसजीले जर्मन क्लब लाइपजिगलाई १-० गोलले पराजित गरेको छ। पिएसजीको जितमा नेइमारले ११ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए।
समूहमा शीर्ष स्थानको म्यानचेस्टरको चार खेलबाट ९ अंक छ। दोस्रो स्थानको पिएसजी र तेस्रो स्थानको लाइपजिगको समान ६-६ अंक छ। चौथो स्थानको इस्तानबुलले ३ अंक जोडेको छ।
यता समह 'एफ' को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले क्लब ब्रुगलाई ३-० गोलले हराएको छ। डर्टमुन्डका लागि इर्लिङ हाल्यान्डले १८ र ६० मिनेटमा गरी दुई गोल गरे। सान्चोले ४५ मिनेटमा दोस्रो गोल गरेका थिए।
यो समूहको अर्को खेलमा इटालियन क्लब लाजियोले रसियन क्लब सेन्ट जेनिथ पिटर्सबर्गलाई ३-१ गोलले हराएको छ।
समूह 'एफ' मा डर्टमुन्ड ९ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको लाजियोको ८ अंक छ भने क्लब ब्रुग ४ अंक सहित तेस्रो स्थानमा रहेको छ। पुछारको जेनिथको १ अंक रहेको छ।